काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले पाएको ऐतिहासिक जनादेश जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।
रास्वपाले आयोजना गरेको सांसद अभिमुखिकरण कार्यक्रममा वाग्लेले जनताले पार्टीप्रति अत्याधिक भरोसा र ठूलो आशा व्यक्त गरेको बताए । उनले त्यस भरोसालाई कार्यान्वयन मार्फत न्याय गर्नुपर्ने र विकास निर्माण तथा सुशासनमा जनताको हुटहुटी पूरा गर्नुपर्नेमा जोड दिए ।
उपसभापति वाग्लेले हालको उपलब्धिलाई २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दै भने, ‘त्यति बेला विपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाए पनि लोकप्रिय मत ३८ प्रतिशत थियो । तर हाल हाम्रो पार्टीले करिब दुईतिहाइ सिट र ४८ प्रतिशत लोकप्रिय मत पाएको छ, जुन अभूतपूर्व जनादेश हो ।’
साथै, उनले विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने बताए । २०४८ सालमा नेपाली कांग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण कार्यकाल पूरा गर्न नसकेको, २०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो अवधिमा विघटन भएको, र २०७४ सालमा नेकपाको स्पष्ट बहुमत पनि दीर्घकाल टिक्न नसकेको वाग्लेले स्मरण गराए ।
उनले भने, ‘यस अभूतपूर्व जनादेशलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्छ । नवनिर्वाचित सांसदहरुले जिम्मेवारिता, पारदर्शिता र संविधानको गहिरो अध्ययन गर्न आवश्यक छ। जनताको गुनासो सुन्ने र जथाभावी अभिव्यक्ति नदिन पनि ध्यान दिनुपर्छ ।’
उपसभापति वाग्लेले पार्टी र सांसदहरूलाई ऐतिहासिक जनादेशको सम्मान गर्दै भविष्यमा प्रभावकारी नेतृत्वका लागि तयार हुन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया