ग्यास अभावको बहानामा कालोबजारी बढ्दो, सूचना दिन विभागको आग्रह

लोकपथ
70
Shares

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई आधार बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सर्वसाधारणलाई सचेत गराउँदै सूचना दिन आग्रह गरेको छ ।

विभागका अनुसार पछिल्ला दिनमा ग्यास लुकाएर राख्ने, अत्यधिक मूल्यमा बिक्री गर्ने तथा कालोबजारी गर्ने गतिविधि बढेको पाइएको छ। यस्ता क्रियाकलापबारे जानकारी भएमा उपभोक्तालाई निःशुल्क टेलिफोन नम्बर ११३७ मा फोन गरी सूचना दिन अनुरोध गरिएको छ ।

नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यास अभाव कायमै रहेको छ । विभागले कृत्रिम अभाव सिर्जना गर्ने तथा अनुचित व्यापारिक क्रियाकलापमा संलग्नमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ ।

देशभरबाट सहज रूपमा सम्पर्क गर्न सकिने गरी ११३७ नम्बर सञ्चालनमा ल्याइएको जनाउँदै विभागले अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही भइरहेको विभागले जनाएको छ ।

सोमबार मात्रै ललितपुरको हरिसिद्धिमा रहेको श्रीराम ग्यास उद्योगको गोदाममा ग्यास लुकाएर राखेको पाइएपछि विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ । गोदामबाट १४ दशमलव दुई किलोग्राम तौलका ६ हजार ३७७ सिलिण्डर बरामद गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?