युद्धको फोटो र भिडियो पोस्ट गर्ने ६ नेपाली पक्राउ, डिपोर्ट हुनेसक्ने

लोकपथ
70
Shares

काठमाडौं । पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै टिकटक, फेसबुकलगायतका सञ्जालमा भिडियो हाल्ने काम नगर्न कडा चेतावनी दिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका सरकारहरूले युद्ध र सुरक्षासँग जोडिएका विषयमा भिडियो बनाउने, फोटो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमा शेयर गर्ने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

अरूले बनाएका त्यस्ता सामग्री शेयर गर्नु पनि ती देशहरूमा गैरकानूनी मानिन्छ । पक्राउ परेकाहरूलाई त्यहाँको कानूनअनुसार ठूलो रकम जरिवाना हुने, लामो समय जेल बस्नुपर्ने र सजाय भुक्तान गरेपछि डिपोर्ट (देश निकाला) समेत हुनुपर्ने गम्भीर अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

उनले भने, ‘त्यहाँका सरकार र सुरक्षा निकायहरू आफ्ना नागरिक मात्र नभई सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि अहोरात्र खटिरहेका छन् । यस्तो बेला त्रास फैलाउने खालका कन्टेन्ट नबनाउन उनीहरूले एड्भाइजरी नै जारी गरेका छन् । यसका बाबजुद पनि ६ जना नेपालीहरू यस्तै कन्टेन्ट निर्माण र सेयर गरेका कारण पक्राउ पर्नुभएको छ ।’

मन्त्रालयले दुतावास र सञ्चारमाध्यममार्फत पटक–पटक सचेत गराउँदा पनि यस्ता घटना हुनु दुःखद् भएको बताउँदै त्यहाँको सरकारले गैरकानूनी मानेका कुनैपनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नेपाली श्रमिकहरूलाई विशेष अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?