ऊर्जा बजारको अस्थिरता कम गर्न तेल भण्डारबाट तुरुन्तै बजारमा पठाइने 

लोकपथ
91
Shares

पेरिस । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ ।

एजेन्सीद्वारा जारी विज्ञप्तिअनुसार आपतकालीन भण्डारबाट तेल छिट्टै विश्व बजारमा आपूर्ति हुन सुरु हुनेछ । यसका लागि सदस्य राष्ट्रहरूले तेल सार्वजनिक गर्ने सम्बन्धी आफ्ना कार्यान्वयन योजना पनि पेस गरिसकेका छन् । अमेरिका र युरोप क्षेत्रका सदस्य राष्ट्रहरूको भण्डारबाट भने मार्च महिनाको अन्त्यतिरदेखि तेल उपलब्ध गराइने जनाइएको छ ।

एजेन्सीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व तेल आपूर्तिमा परेको अवरोधलाई ध्यानमा राख्दै ११ मार्चमा ३२ सदस्य राष्ट्रहरूले संयुक्त रूपमा चार सय लाख ब्यारेल तेल सार्वजनिक गर्ने निर्णय गरेका थिए ।

सो परिमाणमध्ये २७१ दशमलव ७ लाख ब्यारेल सरकारी भण्डारबाट, ११६ दशमलव ६ लाख ब्यारेल उद्योग क्षेत्रले अनिवार्य रूपमा राखेको भण्डारबाट र २३ दशमलव ६ लाख ब्यारेल अन्य स्रोतबाट उपलब्ध गराइने जनाइएको छ । कुल तेलमध्ये ७२ प्रतिशत कच्चा तेल र २८ प्रतिशत प्रशोधित पेट्रोलियम पदार्थ रहनेछ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले मध्यपूर्वमा जारी युद्धले विश्व तेल बजारको इतिहासमै सबैभन्दा ठूलो आपूर्ति अवरोध सिर्जना गरेको जनाएको छ । एजेन्सीका अनुसार सदस्य राष्ट्रहरूको संयुक्त कदम हालसम्मकै सबैभन्दा ठूलो सामूहिक आपतकालीन पहल हो, जसले विश्व तेल आपूर्तिमा महत्वपूर्ण सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यद्यपि एजेन्सीले तेल बजार स्थिर बनाउन होर्मुज जलडमरूमध्यबाट हुने सामान्य समुद्री ढुवानी पुनः सञ्चालन हुनु सबैभन्दा महत्वपूर्ण कारक रहेको पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?