रास्वपाको समानुपातिक सूचीमा नपरेपछि ज्ञानेन्द्र मल्लले के भने ?

लोकपथ
154
Shares

काठमाडौं । क्रिकेटर ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकको सूचीमा राखेको थियो । तर महिलाहरुलाई समेट्नुपर्ने दबाबले रास्वपाको समानुपातिक सूचीमा नअटेपछि मल्लले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएका छन् ।

उनले राजनीति र क्रिकेटलाई जोडेर हेरेका छन् । मैदानमा रहेका खेलाडीहरुले आफ्नो व्यक्तिगत रेकर्डका लागि भन्दा पनि टिमलाई जिताउन लाग्ने गरेको बताए ।

उनले आफूलाई समानुपातिक सूचीमा राखेकोमा रास्वपा परिवार, वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ र कुमार बेनलाई धन्यवाद दिएका छन् ।

आफू सडक वा सदन जहाँ भए पनि देशको सेवामा निरन्तर रहने समेत बताए ।

‘म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार(जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भनेका छन् ।

मल्लले सामाजिक सञ्जालमा भनेका छन् :

क्रिकेटबाट मैले सिकेको कुरा ‘मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन ।’ खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ । त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्नुहुने सम्पूर्ण आदरणीय मतदाताहरूमा हृदयदेखि नै धन्यवाद। मलाई यो अवसरमा सम्झनुहुने रास्वपा परिवार, आदरणीय कुमार दाइ र बालेनजी प्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। म सदनमा रहूँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। किनकि अन्त्यमा, व्यक्तिको हार(जित भन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?