काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको भन्दै यस क्षेत्रमा काम गर्ने श्रमिकले मासिक ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउन सक्ने बताएका छन् ।
उनका अनुसार विशेषगरी पुल निर्माणमा काम गर्ने श्रमिकले महिनामै ५० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् ।
तर, यस्तो काममा अहिले अधिकांश भारतीय श्रमिक संलग्न रहेको उनले बताए । उनका अनुसार नेपालमा निर्माण क्षेत्रमा करिब ७ लाख भारतीय श्रमिक काम गरिरहेका छन् र उनीहरूले पारिश्रमिकको अर्बौँ रुपैयाँ भारत लैजाने गरेका छन् ।
सिंहले सरकारले निर्माण क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न नसक्दा विदेशी श्रमिकको दबदबा बढेको बताए । उनले नेपाली युवालाई सीपमूलक तालिम दिएर देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारलाई आग्रह गरे ।
उनले भने, ‘नयाँ सरकार गठन हुन लागेकाले अर्थतन्त्र चलायमान बनाउन ऐन–कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।’ साथै नेपाली युवालाई देशमै काम गर्ने वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।
सिंहका अनुसार अदक्ष मजदुरलाई छोटो अवधिको तालिममार्फत अर्धदक्ष बनाइएमा उनीहरूले पनि ३० देखि ५० हजार रुपैयाँसम्म मासिक पारिश्रमिक पाउन सक्ने सम्भावना हुन्छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत घोषणा गरिएको १०० दिनको रोजगारी कार्यक्रम पनि व्यवहारमा प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ । उनले उक्त कार्यक्रमलाई कागजी सीमितताबाट बाहिर ल्याएर तालिम र सीप विकाससँग जोड्नुपर्नेमा जोड दिए ।
सिंहले व्यवहारिक शिक्षा प्रणाली लागू गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर बेरोजगार नेपाली युवालाई कामको तालिम दिन सके देशभित्रै रोजगारी सिर्जना गर्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया