काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्नमाथि कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा निरन्तर प्रदर्शन भइरहेको छ ।
नेपाल दलित मुक्ति मोर्चाको अगुवाइमा आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । विकमाथि भएको अत्यन्तै जघन्य घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै शुक्रबारदेखि प्रदर्शन सुरु गरिएको थियो ।
प्रदर्शनकारीहरूले तेस्रो दिन पनि सरकारलाई दबाब दिन माइतीघरमा भेला भएर विरोध जनाएका छन् । उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘इनिशालाई न्याय देऊ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’, ‘छुवाछुत र विभेदको पूर्ण अन्त्य गर’, ‘महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका उत्पीडन र हिंसा बन्द गर’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले यस्तो घटनाको पुनरावृत्ति हुन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने र पीडितलाई छिटो न्याय दिनुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया