रेमिटेन्स निर्भरता घटाएर प्रवासी पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : दीपक मल्होत्रा

लोकपथ
49
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स का उपाध्यक्ष दीपक मल्होत्राले रेमिटेन्समाथिको अत्यधिक निर्भरता घटाउँदै प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अनुकूल वातावरण बनाउनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ ग्लोबल कन्फरेन्सलाई सम्बोधन गर्दै उनले रेमिटेन्सले अहिले देशको अर्थतन्त्र धाने पनि त्यसले मुख्यतया उपभोग बढाएको उल्लेख गर्दै अब उद्यमशीलता र औद्योगिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

मल्होत्राका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ (करिब ७.५ अर्ब अमेरिकी डलर) बराबर रेमिटेन्स प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९।१ प्रतिशतले बढी हो ।

उनले नेपाली श्रमिकहरू उच्च आय भएका मुलुकतर्फ जानु, अमेरिकी डलरको मजबुती, वित्तीय सेवाको डिजिटलीकरण तथा हुन्डी जस्ता अनौपचारिक माध्यममा नियन्त्रणका कारण रेमिटेन्स बढेको बताए ।

प्रवासी नेपालीको लगानी आकर्षित गर्न नेपालले समग्र लगानी पारिस्थितिकी प्रणाली (इकोसिस्टम) विकास गर्नुपर्नेमा उनले जोड दिए । नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण, संस्थागत संयन्त्र, नवीन वित्तीय उपकरण तथा पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार जस्ता रणनीतिक क्षेत्रमा लगानी प्रवर्द्धन आवश्यक रहेको उनको भनाइ थियो ।

मल्होत्राले रेमिटेन्सले अहिले जीवनरेखाजस्तै भूमिका खेले पनि दीर्घकालीन आर्थिक विकासका लागि यसमै मात्र निर्भर रहन नसकिने बताए । उनका अनुसार प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक आर्थिक विकासको इन्जिनमा रूपान्तरण गर्न आवश्यक छ ।

उनले लगानी प्रक्रियामा रहेको झन्झटिलो प्रशासनिक प्रणाली सुधार गर्न ‘एक द्वार नीति’ लागू गर्नुपर्ने माग पनि गरे । ‘एक द्वार प्रणाली नभएकै कारण एउटा अपार्टमेन्ट निर्माण गर्न आठ ठाउँबाट अनुमति लिनुपर्छ र दुई वर्ष कुर्नुपर्ने अवस्था छ,‘उनले भने, ‘यी प्रक्रियालाई सरलीकरण गर्न आवश्यक छ ।’

मल्होत्राले विगत ३६ वर्षदेखि देशले राजनीतिक अस्थिरता भोग्दै आएको स्मरण गराउँदै कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउन नसकेको बताए । यद्यपि हालको सरकारबाट निजी क्षेत्र आशावादी रहेको उनको भनाइ छ ।

उनले करिब दुई तिहाइ बहुमतको सरकारले राजनीतिक स्थायित्व कायम गर्दै थाँती रहेका आर्थिक विकासका काम अघि बढाउने विश्वास व्यक्त गरे । 

साथै, नेपाल चेम्बर अफ कमर्स लगानीमैत्री वातावरण निर्माण गर्न तथा प्रवासी लगानीकर्ता र स्वदेशी उद्यमीबिच साझेदारी विस्तार गर्न प्रतिबद्ध रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?