भदौ २३ र २४ को घटना बुझाउन नसक्दा नेतृत्वमाथि भ्रम फैलियो : उपमहासचिव भट्ट

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले गरेका राम्रा कामहरू र महत्त्वपूर्ण राजनीतिक घटनाक्रमबारे जनतालाई सही ढंगले बुझाउन नसक्दा अहिलेको परिणाम भोग्नुपरेको स्वीकार गरेका छन् ।

उनले गत भदौ २३ र २४ गते भएका घटनाक्रमलाई जनतासमक्ष प्रभावकारी रूपमा संप्रेषण गर्न नसक्नु पार्टीको मुख्य कमजोरी रहेको बताएका छन् ।

आफ्नो व्यक्तिगत धारणा राख्ने क्रममा भट्टले पार्टीको समग्र समीक्षा भएपछि मात्रै आधिकारिक निष्कर्ष आउने भए पनि आफूले देखेका कमजोरीहरू पार्टी कमिटीमै राख्ने बताए ।

उनले भने, ‘हामीले गरेका कामलाई तलसम्म जनतासँग पुर्‍याउन सकेनौँ । भदौ २३ र २४ को घटनालाई पनि ठीक ढंगले जनतासमक्ष संप्रेषण गर्न सकेनौँ । त्यसको परिणाम नै अहिले हामीले भोगिरहेका छौँ र यसलाई स्वीकारेर अगाडि बढ्नुपर्छ ।’

भट्टका अनुसार ती घटनाक्रम कसरी भए, त्यसमा पार्टी र नेतृत्वको भूमिका के थियो भन्ने यथार्थ कुरा जनतामाझ पुग्न नसक्दा पर्दा पछाडिका खेलहरूले प्रश्रय पाएको हो ।

उनले त्यसैका कारण एमाले र यसको नेतृत्वमाथि सुनियोजित रूपमा आक्रमण भएको र जनतामाझ गलत भाष्य खडा गरिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?