काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा आर्थिक समृद्धि ल्याउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न एनआरएनएको १२औँ एकता महाधिवेशनमा महतोले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताए ।
उनले भने, ‘हामी नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम छौँ । हामीबीच एउटै कुरा अभाव छ संकल्प । यदि त्यो संकल्प गर्छौं भने छोटो समयमा नेपाल समृद्ध बन्न सक्छ ।’
महतोले आगामी १० वर्षभित्र नेपाललाई १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिने दाबी गरे ।
उनले नेपालभित्र र विदेशमा रहेका नेपालीहरूको आर्थिक गतिविधि जोड्दा हालको अर्थतन्त्र लगभग १०० बिलियन डलर पुग्न लागेको छ। उनले बाहिर रहेका करिब ८० लाख नेपालीले वार्षिक २० अर्ब डलर रेमिट्यान्स पठाइरहेको जानकारी दिए ।
उनले गैरआवासीय नेपालीको लगानी देश विकासमा महत्वपूर्ण हुने बताए र सरकारसँग गुनासो गर्ने प्रवृत्ति छोडेर सक्रिय भुमिका खेल्न आह्वान गरे । महतोले भने, ‘विदेशी लगानी आउनुअघि गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी बलियो हुनुपर्छ । जबसम्म यी दुवैको लगानी मज़बुत हुँदैन, विदेशी लगानी सहज रूपमा नेपालमा प्रवेश गर्न सक्दैन ।’
उनले निजी क्षेत्रले गैरआवासीय नेपालीलाई बेवास्ता गरेको गुनासो गर्दै दाबी गरे कि निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर मात्र देशको आर्थिक प्रगति सम्भव छ ।
महतोले गैरआवासीय नेपालीहरूलाई विदेशमा बस्दा सुझाव दिने मात्रै नभई नेपाल आएर योगदान गर्न आह्वान गर्दै भने, ‘देश बनाउने दायित्व सबैको हो । अहिले नियम कानुन कठिन छन्, तर यही बेला हामी आएर नेपाल बनाउने अभियान अगाडि बढाउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया