बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

लोकपथ
0
Shares

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकमाथि सामूहिक बलात्कारपछि हत्या र कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटना तथा दैलेखमा १२ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भई  गर्भवती भएको घटना सार्वजनिक भएकामा सिजपले गम्भीर चिन्ता व्यक्त गरेको हो ।

त्यसैगरी सामाजिक सञ्जालमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियो बनाएर चार वर्षसम्म निरन्तर ‘ब्ल्याकमेल’ र बलात्कार गरिएको कैलाली टीकापुरको घटनाले डिजिटल यौन शोषण र बालिकामाथि हुने दीर्घकालीन हिंसाको भयावह रूप देखाएको सिजपले जनाएको छ ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले आज एक विज्ञप्ति जारी गरी यी घटनाहरूले नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, शारीरिक शोषण, अनलाइन दुर्व्यवहार र हत्याजस्ता अपराध बढ्दो क्रममा रहेको सङ्केत गरेको र बालबालिकामाथि हुने यस्तो जघन्य हिंसाले बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा नेपालको संविधानले सुनिश्चित गरेको बाल संरक्षणको अधिकारको गम्भीर उल्लघंन गरेको जनाएका छन् ।

‘सबै घटनाको छिटो, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न र पीडित तथा पीडित परिवारलाई मनोसामाजिक परामर्श, कानुनी सहयोग तथा उचित क्षतिपूर्ति उपलब्ध गर्न माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?