काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले उक्त जघन्य अपराधमा संलग्न व्यक्तिलाई कडा कानुनी कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन सरकारलाई दबाब दिएका हुन् ।
प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता कविता चन्द सोडारीले आवश्यक परे कानुन संशोधन गरेर भए पनि बलात्कार, हत्या जस्ता जघन्य अपराधलाई रोक्न कडा कदम चाल्नुपर्ने बताए। उनले यस्ता घटनामा जिम्मेवार निकायबाटै संरक्षण हुने आशंका रहेको भन्दै आक्रोश व्यक्त गरे ।
सोडारीले सुर्खेतमा घटेको उक्त घटना अत्यन्तै दर्दनाक भएको उल्लेख गर्दै यस्ता अपराध बारम्बार भइरहँदा अपराधीहरू झन् उत्साहित हुने अवस्था देखिएको बताए। उनका अनुसार जघन्य अपराधका घटनामा ढाकछोप गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारले नीतिगत रूपमै सुधार गर्नुपर्ने आवश्यकता रहेको छ ।
प्रदर्शनमा सहभागीहरूले इनिसालाई न्याय देऊ, बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारसँग कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयनको मागसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया