काठमाडौं । चार महिनाअघि मात्रै जन्मिएको हर्क साम्पाङको श्रम संस्कृति पार्टीभित्र भाँडभैलो सुरु भएपछि अध्यक्ष हर्क साम्पाङले रोइलो नगर्न पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन् ।
थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरू भएसँगै साम्पाङले मुख खोलेका हुन् । साम्पाङले सामाजिकमा सञ्जाल लेख्दै समानुपातिकको विषयमा रोइलो नगर्न चेतावनी दिँदै अन्यथा पार्टी सदस्यबाटै निकाल्ने चेतावनी दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’

हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ । निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूची पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सीट (पुरुष) जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद संख्या ७ पुग्छ । अब साम्पाङले ३३ प्रतिशत महिला सुरक्षित गर्नुपर्ने हुन्छ । कम्तीमा दुईजना महिला उम्मेदवार समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।
महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरू भइसकेको भन्दै मिडियाबाट हिजो हर्कलाई आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया