राहदानी वितरण प्रणाली परिवर्तन हुँदै, केही दिन अवरुद्ध हुनसक्ने

लोकपथ
70
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ प्रणाली जडान गर्ने क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही समयका लागि अवरुद्ध हुनसक्ने जनाएको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने प्रक्रियाका कारण राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुनसक्ने जनाएको हो । विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म प्रभावित हुन सक्छ ।

यस्तै, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने सेवा भने करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

नयाँ प्रणाली जडान र कार्यान्वयनपछि प्रणाली स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ । यस अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने सेवाग्राहीले राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ ।

विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरिएको छ ।

नयाँ प्रणाली कार्यान्वयन सम्बन्धी थप सूचना निकट भविष्यमा जारी गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?