काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको सिट संख्या निर्धारण भएको छ ।
निर्वाचन आयोगले दलहरुले पाएको मतका आधारमा सिट संख्या निर्धारण गरेको हो । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी संख्या पाएको छ । जसअनुसार रास्वपाले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९, राप्रपाले ४ र श्रम संस्कृति पार्टीले ४ सिट गरी ११० सिटको बाँडफाँट भएको हो ।
त्यस्तै आयोगले ३ दिनभित्र यसअघि नै आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीका आधारमा नाम छनोट गरी आयोगमा पेस गर्न समेत भनेको छ । आयोगका अनुसार समानुपातिकमा खसेको कुल सदर मतको ३ प्रतिशत ल्याइ थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरुले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
फागुन २१ को निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेका थिए । त्यसमा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए । तर त्यसमध्ये १ करोड ५ लाख ५९ हजार १७ मत अर्थात् ९४ दशमलव ५५ प्रतिशत मत सदर भएको थियो । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ जनाले मतदान गरेकोमा ९४ प्रतिशत मत सदर हुँदा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको थियो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया