नयाँ सरकारले स्थायी नीति लिनुपर्छ : अध्यक्ष ढकाल

लोकपथ
77
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।

बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको र अब त्यो पूरा हुने चरणमा पुगेको बताए ।

उनकाअनुसार स्थिर सरकारले दीर्घकालीन नीति ल्याएर आर्थिक गतिविधि बढाउन सक्छ । करिब दुई तिहाइ बहुमत नजिकको सरकार बन्न लागेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सम्बन्धित विषयहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को वाचापत्रमा पनि समावेश गरिएको स्मरण गराए ।

ढकालले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिबद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए। उनका अनुसार ती प्रतिबद्धताहरू प्रभावकारी रूपमा लागू भएमा छोटो समयमै उल्लेख्य आर्थिक प्रगति सम्भव हुनेछ ।

उनले आगामी सरकारले बाह्य तथा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिहरू ल्याउनुपर्ने पनि बताए ।

ढकालले भने, ‘राजनीतिक परिवर्तनसँगै नयाँ सरकार आउँदैछ। निजी क्षेत्रले सधैं स्थिर सरकार र स्थिर नीति चाहिन्छ भन्ने माग गर्दै आएको थियो। अहिले करिब दुई तिहाइको सरकार बन्ने अवस्था छ। रास्वपाको वाचापत्रमा निजी क्षेत्रका मुद्दा समेटिएका छन्, अब ती प्रतिबद्धता इमानदारीपूर्वक लागू हुनुपर्छ । ’

अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानूनका कारण लगानीकर्तामा निराशा बढिरहेको उल्लेख गर्दै त्यस्ता कानून लागू नहुने सुनिश्चितता राज्यले गर्नुपर्ने बताए ।

उनकाअनुसार भूतप्रभावी कानून लागू नहुने सुनिश्चितता भएमा मुलुकमा आर्थिक गतिविधि तीव्र हुने, आन्तरिक रोजगारी सिर्जना हुने र राजस्व संकलनसमेत बढ्नेछ । आर्थिक गतिविधि विस्तारसँगै पूर्वाधार निर्माणमा समेत सहयोग पुग्ने र छोटो समयमै आम नेपालीको अपेक्षा पूरा गर्न सकिने विश्वास उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?