उदयपुर–२ बाट निर्वाचित रास्वपाका तामाङ पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा

लोकपथ
441
Shares

काठमाडौं । उदयपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्यबहादुर तामाङ पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ । 

निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको हो । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको पाइएको छ । सो कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई रहेका छन् । केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालोसूचीको १०१,५१४ नम्बरमा छ । 

यही फागुन २१ गते भएको निर्वाचनमा तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बरबहादुर रायमाझी निकटतम प्रतिस्पर्धी बनेका थिए । उनले ७ हजार ६४८ मत ल्याउँदा नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुरेश कुमार राईले ५ हजार १९७ र श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत पाएका थिए

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले निर्वाचनको मुखैमा धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज गरेको थियो । आयोगले साहको उम्मेदवारी खारेज गरेपनि उनले सानदार मत ल्याएका थिए । 

रास्वपाका उम्मेदवार साहले ३० हजार ४९१ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृका यादवले १० हजार ४३० मत ल्याएका थिए । कांग्रेसका रामपलटन साहले ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलले ९ हजार ३२५ मत ल्याएका थिए । आयोगले साहको उम्मेदवारी खारेज गरिसकेकाले नेकपाका यादवलाई विजयी घोषणा गरेको थियो । 

उता, आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले साहको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएको छ ।

आयोगले सोमबार सर्वोच्चको आदेशपछि यादवलाई प्रमाणपत्र दिने निर्णय लिएको हो । अर्को पेसी २९ गतेलाई तोकिएको र त्यतिन्जेल नतिजा रोक्दा असर पर्ने भन्दै सर्वोच्चले पछि निर्णय गरेअनुसार नै हुने गरी हाललाई प्रमाण पत्र दिने निर्णय गरेको थियो । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?