निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री अर्याल

लोकपथ
0
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा आज भर्चुअल माध्यमबाट भएको बैठकमा धन्यवाद ज्ञापन गरेका हुन् ।

उक्त बैठकमा प्रतिनिधिसभा निर्वाचनको समग्र सुरक्षा व्यवस्थापनबारे समीक्षा गरिएको थियो ।

समीक्षा क्रममा केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले रक्तपातविहीन रूपमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ-आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताउँदै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रमा रहेर काम गर्नेदेखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले सबैको सामूहिक र साझा प्रयासबाट मात्र यस ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको उल्लेख गरे ।

गृहसचिव राजकुमार श्रेष्ठले सबैले आआफ्नो व्यावसायिक निष्ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भई जिम्मेवारी पूरा गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट उच्च प्रशंसा प्राप्त गर्न सफल भएको बताए ।

भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरिएको तयारीबारे आआफ्नो क्षेत्रको अनुभव सुनाउनुको साथै विगत ३० वर्षको अवधिमा भएका निर्वाचनभन्दा स्वच्छ, निष्पक्ष, भयरहित र त्रुटिरहित एकैसमयमा एकैपटक निर्वाचन भएकाले ऐतिहासिक उपलब्धि हासिल गरिएको बताउँदै यस सफलतामा गृहमन्त्री अर्यालको कुशल नेतृत्वदायी भूमिका र अभिभावकत्वको प्रशंसा गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?