काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिएसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना तथा प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाहरूको उपस्थिति बढेकाले पनि अब बन्ने सरकार युवामैत्री नीति, डिजिटल सेवा र पारदर्शी विकासतर्फ केन्द्रित हुने आशा जेनजी पुस्ताले व्यक्त गरेका छन् ।
गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ‘जेनजी’ प्रदर्शनमा सहभागी भएर घाइते भएका २५ वर्षीय मदन कार्कीले अब बन्ने सरकारले युवापुस्ताको माग र भावना प्राथमिकतामा राख्नुपर्ने बताए । उनले आफूले सकारात्मक परिवर्तनको आशासहित मतदान गरेको उल्लेख गर्दै सरकार र ‘जेनजी’ आन्दोलनका समूहबिच भएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
“नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस्। सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस्। आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही हुनुपर्छ,” उनले भने ।
उक्त आन्दोलनका क्रममा घाइते भएकी २० वर्षीया लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत छिन् । उनले अस्पतालको शय्याबाटै अब बन्ने सरकारले युवाका माग कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरिन् । जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासनका मुद्दा सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ ।
रामेछाप स्थायी घर भई काठमाडौंमा बस्दै आएकी २२ वर्षीया सुजता कार्कीका अनुसार जेनजी आन्दोलनपछि युवाहरूमा राजनीतिप्रतिको चासो बढेको छ । उनले युवाहरूका लागि ‘पार्टटाइम’ रोजगारीको व्यवस्था गर्न तथा विकट र पिछडिएका क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिन् ।
‘पहिले राजनीतिमा खासै रुचि थिएन । आन्दोलनपछि राजनीतिक गतिविधिमा ध्यान दिन थालेकी छु। देशमा रोजगारीको अवसर हुनुपर्छ । विदेश जानुपरे पनि कामका लागि होइन, घुम्नका लागि मात्र जाने अवस्था बनोस्, ‘उनले भनिन्।
दोलखाका २३ वर्षीय विशाल बुढाथोकीले अब बन्ने सरकारले पुराना दलले गर्न नसकेका नीतिगत सुधार र पूर्वाधार विकासलाई गति दिनुपर्ने बताए । गाउँ र सहरबीचको विकास असन्तुलन हटाउन सरकारले प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।
काठमाडौंका २७ वर्षीय विनय ढुङ्गानाले डिजिटल शासन प्रणाली (डिजिटल गभर्नेन्स) र उत्पादनमुखी अर्थतन्त्रमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिए । ‘नयाँले धेरै गर्छन् भन्नेभन्दा पनि पुरानाले केही गरेनन् भन्ने निराशाले मत परिवर्तन गरेको हो,‘उनले भने, ‘सरकारी सेवा प्रवाह सरल र सहज बन्ने अपेक्षा छ। सामान्य कामका लागि भनसुन वा पैसा दिनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’
दोलखाका २४ वर्षीय किरण बुढाथोकीले जनताले परिवर्तनका लागि मत दिएको स्मरण गराउँदै अब बन्ने सरकारले प्रणाली सुधारमा ध्यान दिनुपर्ने बताए । पर्यटन, जलविद्युत् र कृषिलाई सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ ।
खोटाङकी १९ वर्षीया सलिना राईले युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु अबको सरकारको प्रमुख जिम्मेवारी हुनुपर्ने बताइन् । ‘मेरो परिवार र गाउँका धेरै युवाहरू रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमै भरपर्दो रोजगारी नहुँदा हामी अन्योलमा छौँ,उनले भनिन्, ‘अबको सरकारले रोजगारी सिर्जना गर्छ भन्ने विश्वास छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया