काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि डा. लेखजंग थापाले आफ्नो क्षेत्रको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै रुपन्देहीको सिद्धार्थनगर–१३ मा रहेको ऐतिहासिक भीम अस्पतालको अवलोकन गरेका छन् ।
वि.सं. १९९० सालमा केवल ३ शैयाबाट सुरु भएको भीम अस्पताल समयक्रमसँगै विस्तार हुँदै हाल ५० शैया सरकारी र ५७ शैया अस्पताल विकास समितितर्फ गरी कुल १०७ शैयाको अस्पतालमा रूपान्तरण भएको छ । जसमध्ये ८५ शैया हाल सञ्चालनमा रहेको जानकारी अस्पताल प्रशासनले दिएको छ । झण्डै एक शताब्दी लामो इतिहास बोकेको यो अस्पताल रुपन्देही तथा आसपासका हजारौं नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बनेको छ ।
अवलोकनका क्रममा डा. थापाले अस्पताल प्रमुख डा. वर्षा थापा लगायत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाट गर्दै अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार, उपकरण, जनशक्ति तथा व्यवस्थापन सम्बन्धी विषयमा विस्तृत जानकारी लिएका थिए ।
स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा. थापाले अस्पतालको वर्तमान अवस्था बुझ्दै सेवा सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । उनले अस्पताल व्यवस्थापनसँग छलफल गर्दै सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन, आवश्यक स्वास्थ्यकर्मी तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न, आधुनिक प्रविधि र उपकरण थप गर्न तथा आकस्मिक र विशेषज्ञ सेवा विस्तार गर्न आग्रह गरेका छन् ।
यसका साथै बिरामीले सहज, सम्मानजनक र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न अस्पतालको सरसफाइ, व्यवस्थापन र सेवा प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
डा. थापाले अस्पतालमा कार्यरत नन–मेडिकल स्टाफ तथा सुरक्षामा खटिएका गार्डहरूलाई समेत समयसापेक्ष स्वास्थ्य सचेतना र आपतकालीन अवस्थामा कसरी सहयोग गर्ने भन्ने विषयमा तालिम दिनुपर्ने आवश्यकता रहेको सुझाव दिएका छन् ।
अवलोकनपछि उनले भीम अस्पताल केवल एउटा स्वास्थ्य संस्था मात्र नभई हजारौं नागरिकको भरोसाको केन्द्र भएको उल्लेख गर्दै यसलाई समयसापेक्ष प्रविधि, दक्ष जनशक्ति र व्यवस्थित व्यवस्थापनसहित लुम्बिनी क्षेत्रकै स्तरीय सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।
उनले जनताको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन भीम अस्पतालको स्तरोन्नति, सेवा विस्तार तथा पूर्वाधार विकासका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया