काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचन खर्च विवरण बुझाएका छन् । चितवन–२ बाट निर्वाचित लामिछानेले ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । लामिछानेको तर्फबाट सीता ज्ञवालीले खर्च विवरण बुझाएकी हुन् ।
उनको चुनावी खर्च रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह .(बालेन) को भन्दा कम हो । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका थिए ।
रास्वपा सभापति लामिछानेले मनोनयन खर्च १० हजार, नमुना मतपत्र छपाई सामग्रीमा ६८ हजार १ सय ६१, यातायात तथा इन्धन खर्चमा २ लाख ९५ हजार, मतदान प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचार प्रसारमा ४६ हजार, प्रचार प्रसार सामग्री खरिद (झन्डा र ब्याच) मा १ लाख १२ हजार, ब्यानर र स्टिकर खरिदमा ५५ हजार, खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार, हवाई खर्च १३ हजार ६ सय २६ र गोष्ठी भेलामा १ लाख ८० हजार गरी ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

झापा–५ बाट विजयी बालेनले भने १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ ।
बालेनका पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ ।
यसैगरी बालेनले झन्डा र ब्याचसहितको प्रचार प्रसार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।
बालेनको निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको विवरणमा समग्रमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया