काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधवार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताए ।
उनकाअनुसार मंगलबार अपरान्हसम्म ३–४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जिसीले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताए ।
यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उहाँको भनाइ छ । त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जिसीले बताए ।
उनले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिव पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताए ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जिसीले बताए ।
उनले भने, ‘प्रतिनिधि सभा निर्वाचन २०८२ को पहिलो हुने निर्वाचित हुने (प्रत्यक्षतर्फ) मतगणना सम्पन्न भई परिणाम समेत घोषणा भइसकेको छ । समानुपातिकतर्फ आज बिहानसम्म १२–१३ निर्वाचन क्षेत्रहरुको प्रक्रियामा थियो । त्यो बाहेक अरु सबै निर्वाचन क्षेत्रहरुको परिणाम आइसकेको थियो । अहिले भर्खरसम्म बुझ्दाखेरी ३/४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा रहेको छ । आज मध्यराती वा भोलि बिहानसम्ममा सबै निर्वाचन क्षेत्रको परिणाम आइसक्छ भन्ने जानकारी आएको छ । अन्य सबे निर्वाचन क्षेत्रको परिाणाम आइसकेको जानकारी आएको छ । अन्तिम नतिजा भोलि बिहान नभए दिउँसोसम्ममा आइसक्छ भन्ने हाम्रो अनुमान छ । कतिपय ठाउँमा उम्मेदवार वा प्रतिनिधिबीचको विवाद हुनसक्छ । अथवा सदर र बदर मतको समेत कहिले कहीँ विवाद हुनसक्छ । त्यस्तो विवाद भयो भने अन्तिम परिणाम आउन केही ढिला हुनसक्छ । यही अनुपातमा मतगणना जारी रह्यो भने हामीले अपेक्षा गरेअनुसार नै परिणाम आउने जानकारी गराउन चाहन्छु । त्यस्तै मैले हेर्दा केही जिल्लाहरुमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखेको छु । तथापी मैले केही जिल्लाको नमुनाको आधारमा भनेको हुँ । तर गत निर्वाचनको समेत डाटालाई अध्ययन गर्दा सरदर पाँच प्रतिशत मत बदर हुन्छ कि भन्ने छ । यद्यपि अन्तिम फिगर चाँही समानुपातिकको समेत मत गणना भइसकेपछि सदर मत र बदर मतको प्रतिशत यकिन हुनेछ । समानुपातिकको मत गणना सम्पन्न भइसकेपछि राजनीतिक दलहरुलाई सिट बाँडफाँडको लागि हामी पत्राचार गर्छौं ।’
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम घोषणा भइसकेको छ । सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ ।
त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जित्न सफल भएको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ९ सिट जितेको छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।
समानुपातिकतर्फ समेत राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया