काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बझाङले एक नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
निष्काशनमा पर्नेमा रामबहादुर महर रहेका छन् । महरले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगरेको मात्र नभएर विपक्षी उम्मेदवारलाई भोट मागेको भन्दै कांग्रेसको निष्काशन गरेको हो ।
पार्टीबाट निष्काशित महर नेपाली कांग्रेस निकट किसान संघका पूर्वजिल्ला अध्यक्ष समेत हुन् ।
‘नेपाली कांग्रेस बझाङका पूर्वकिसान संघका जिल्ला अध्यक्ष रामबहादुर महरले पार्टीको आचरण, अनुशासन र विधान विपरित नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाईली स्नेहीविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई भोट मागिरहेको सप्रमाण पुष्टि हुन आएकाले निजलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेसको विधान २०१७ (संशोधन) सहित परिच्छेद ९ को (ख) बमोजिम कारबाहीका लागि निष्काशित गरिएको व्यहोरा जानकारी गरिन्छ,’ जिल्ला अनुशासन समितिका संयोजक वर्कबहादुर रोकायाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै अन्य केही व्यक्तिहरुलाई संकास्पद गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ ।
पार्टीबाट निष्काशित भएका महर बझाङबाट हालै निर्वाचित प्रतिनिधि सभा सदस्य ऐन महरका बुबा हुन् । रामबहादुर कांग्रेसको राजनीतिमा भिजे पनि ऐनको राजनीतिक रुझान भने नेकपा एमाले निकट अनेरास्ववियुमा रह्यो । कांग्रेसको किसान संघको जिल्ला अध्यक्ष समेत भइसकेका रामबहादुरले खुलेरै आफ्ना छोरा ऐनलाई भोट मागेको प्रमाण कांग्रेसले फेला पारेको थियो ।
त्यसो त अघिल्लो निर्वाचनमा समेत कांग्रेसमै रहेका रामबहादुरले ऐनलाई नै भित्री रुपमा सघाएका थिए । त्यति मात्र होइन केही समयअघिदेखि रामबहादुर एमालेको पार्टी कार्यालयमा आउजाउ गर्ने गरिरहेका थिए ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ऐन महर १८ हजार ५ सय ४३ मतसहित निर्वाचित भए । यता नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका प्रकाश रसाईली स्नेही १६ हजार ३ सय ४ मतसहित पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया