महिला उम्मेदवार, जो प्रत्यक्षमा चुनिए

लोकपथ
21
Shares

काठमाडौं । फागुन २१ को निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । प्रत्यक्षमा १२५ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अघि छ भने समानुपातिकमा समेत ठूलो मतान्तरसहित रास्वपा नै पहिलो बनेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत अर्थात् ९१ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रत्यक्षतर्फबाट १४ महिला मात्रै निर्वाचित भएका छन् । प्रत्यक्षमा निर्वाचित भएका १४ जना महिलामध्ये १३ जना रास्वपाबाटै निर्वाचित भएका हुँदा कांग्रेसबाट प्रत्यक्षतर्फ एक जना मात्रै उम्मेदवार निर्वाचित भएकी छन् । तर नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने प्रत्यक्षमा चुनाव जित्ने महिला शून्य छन् ।

रास्वपाले १६ र कांग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू खडा गरेको थियो । यस्तै नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टीले ११ महिलालाई उम्मेदवार बनाएको थियो । आयोगका अनुसार निर्वाचनमा ३८८ महिला उम्मेदवारहरू प्रतिस्पर्धामा थिए । कांग्रेसबाट उम्मेदवार बनेका ११ महिला नेतृमध्ये बासना थापाले मात्रै जित निकालेकी छन् । उनी दैलेख–१ मा १२ हजार ३७२ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७६९ मत पाउँदा रास्वपाका नन्दकिशोर बस्नेत आठ हजार १५१ मतसहित तेस्रो भएका छन् ।

रास्वपाबाट को–को महिला उम्मेदवार निर्वाचित भए ?

रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर झापा–२ मा ६० हजार ११० मतसहित विजयी भएकी छन् । यस्तै चितवन–३ मा ५९ हजार २७७ मत ल्याएर सोबिता गौतम निर्वाचित भएकी छन् । झापा–१ बाट ४५ हजार ६८० मतसहित निशा डाँगी र सर्लाही–१ बाट ४४ हजार १८१ मतसहित नीतिमा भण्डारी कार्की विजयी भइन् । यस्तै तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६, आशिका तामाङ धादिङ–१ बाट ३९ हजार १२८ मत ल्याएर विजयी भएका छन् । सप्तरी–१ बाट विजयी पुष्पाकुमारी चौधरीले ३८ हजार १९५, कास्की–३ बाट विजयी बिना गुरूङले ३७ हजार ७५० मत ल्याएका छन् ।यता रास्वापा नेतृ आशा झा मोरङ–५ र गौरी कुमारी महोत्तरी–४ बाट विजयी भएकी छन् । उनीहरूले क्रमशः ३० हजार ४३४ र ३० हजार १३२ मत पाइन् ।

रास्वपा नेतृ कोमल ज्ञवाली कैलाली–१ बाट १७ हजार ८२६ मत र रञ्जु न्यौपाने अर्थात् रञ्जु दर्शना काठमाडौं–१ बाट १५ हजार ४५५ मत पाएर निर्वाचित भइन् । त्यसैगरी मोरङ–६ बाट रुबिना आचार्य विजयी भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएको आयोगले जनाएको छ । ०७९ को निर्वाचनमा राम्रो जनमत पाएका सबै पुराना दल यसपाली नराम्ररी विस्थापित हुन् पुगे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७६ प्रतिशत सिट जितेर समानुपातिकमा पनि ४८ प्रतिशत हिस्सा सुनिश्चित गर्दा कांग्रेस, एमाले र नेकपालाई ठुलो क्षति पुगेको छ  । तुलनात्मक रूपमा सबैभन्दा ठुलो मार एमालेलाई परेको छ । ०७९ मा प्रत्यक्षतर्फ ४५ सिट जितेको एमाले यसपालि १६५ सिटकै नतिजा आउँदा नौ सिटमा सीमित भएको छ । बाँकी ७७ महिला दलहरूले आफ्नो भागमा पर्ने समानुपातिक सिटका आधारमा पठाउनु पर्नेछ ।

त्यसो त ती १४ महिला सांसदमध्ये ४ जनाले पुनः संसदको यात्रा तय गरेका हुन् ।

रास्वपाबाट यसअघि नै प्रत्यक्षमा जितेका सोविता र तोसिमा पुनः निर्वाचित भए । यता समानुपातिकबाट सांसद बनेका निशा र इन्दिरा भने पहिलोपटक प्रत्यक्षमा निर्वाचित बनेका हुन् । इन्दिरा राना जो उपसभामुख समेत बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?