काठमाडौंको वायुको गुणस्तरले अस्वस्थको तह पार गर्‍यो, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

लोकपथ
35
Shares
काठमाडौं उपत्यकामा प्रदुषणको अवस्था । तस्बिर : एआई

काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) सम्म काठमाडौं विश्वकै अस्वस्थ शहरको तेस्रो नम्बरमा परेको छ । पहिलो नम्बरमा भारतको राजधानी नयाँदिल्ली र दोस्रो स्थानमा बंगलादेशको राजधानी ढाका रहेको छ । 

बिहान १० बजे यो समाचार तयार पार्दा काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ रहको छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । 

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गरेको छ । वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?