चितवनमा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारकै जमानत जफत

लोकपथ
84
Shares

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो ।

सो कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो । उनका अनुसार क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका थिए । 

क्षेत्र नम्बर १ मा रास्वपा, नेपाली कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ । सो क्षेत्रमा ९६ हजार १५४ मत खसेको थियो । ९१ हजार ८९९ मत सदर भएको थियो ।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको उनले बताए । उनका अनुसार सो क्षेत्रमा ८७  हजार २२१ मत खसेको थियो । यसमा ८४ हजार २३२ मत सदर भएको थियो । यस्तै, क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीबाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो । समग्र जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको उनले जानकारी दिए । 

जिल्लामा समानुपातिकतर्फको मतगणनासमेत अन्तिम चरणमा पुगेको छ । चितवन ं२ र ३ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ को अन्तिम अवस्थामा पुगेको  सूचना अधिकारी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?