काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन चुनाव जितेलगत्तै आफ्नै आत्मकथा पुस्तक बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित विजयी भएका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत स्थानमा पुस्तक बिक्री गरेका हुन् ।
‘एकैदिन ८ सय पुस्तक बिक्री गरेर करिब छ लाख रुपैयाँ आम्दानी भयो,’ उनले भने, ‘बिक्रीका लागि काठमाडौंबाट थप पुस्तक मगाएको छु ।’ पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षरसहित पुस्तक किन्नेको उल्लेख्य भीड लागेको थियो ।
पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन उनले पछिल्ला तीन वर्षदेखि आफ्नै आत्मकथा लेखेर बिक्री गर्दै आएका छन् ।
गत भदौ २३ र २४ मा भएको ‘जेनेजी’ आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा उनी करिब चार महिना शिक्षामन्त्रीसमेत बनेका थिए ।
स्वतन्त्र उम्मेदवार पुनले म्याग्दीबाट २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचन आयोगले अझै सबै परिणाम सार्वजनिक नगरेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको उनले बताए । चुनाव जितेपछि समर्थकलाई विजयउत्सवका नाममा तडकभडक नगर्न आग्रह गर्दै उनी फेरि आफ्नो पुरानै दिनचर्यामा फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया