काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी हारेको भन्दै पदबाट राजीनामा नदिन सभापति गगनकुमार थापालाई सुझाव दिएका छन् ।
आफैँ पराजित भएका गगनलाई आगामी दिनमा थप बलियो भएर अघि बढ्न समेत सुझाएका छन् । विश्वका ठूला नेताहरु हारेको उदाहरण दिँदै पूर्वमन्त्री समेत रहेका नेता केसीले सभापति नै थाक्ने वा निराश हुने वा अल्मलिने छुट नभएको बताए ।
‘पार्टीको प्रमुख सारथी, कांग्रेस सभापतिलाई थाक्ने, निरास हुने वा अल्मलिने छुट छैन। परिस्थिति तथा विरासतको रुपमा आईलागेका खराबीको उपजलाई आधारमा राजीनामा गर्नु गम्भीर राजनीतिक भुल हुनसक्छ !,’ उनले भनेका छन् ।
हालैको निर्वाचनमा गगनले सर्लाही क्षेत्र नं ४ बाट पराजित भएका छन् । सभापति थापालाई थप ढाडस दिँदै नेता केसीले बेलायतका प्रधानमन्त्री सर विन्स्टन चर्चिल, अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुस, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीदेखि नेपालकै कृष्णप्रसाद भट्टराई चुनाव हारेको उदाहरण दिए ।
आफैँ निर्वाचनमा हारेपछि सभापति गगनको राजीनामा माग समेत गरिएको छ । तर नेता केसीले यस्तो अवस्थामा हतारमा निर्णय नगरी आगामी दिनमा पार्टीलाई जिताउन लाग्ने गरी काम गर्न पार्टी नेतृत्व लाग्नुपर्नेमा जोड दिए ।
‘हतारमा कुनै निर्णय नगरी विगतबाट थुप्रिंदै आएका अपयश, विकृति र कुडा कर्कट र वर्तमान परिस्थिति तथा परिणामको निर्मम विश्लेषण, समीक्षा र मूल्याङ्कन गरी भावी रणनीति तयार गर्न पार्टी नेतृत्व युद्धस्तरमा केन्द्रित हुनु आजको प्रमुख आवश्यकता हो,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया