नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ?

लोकपथ
371
Shares

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार निर्वाचित सदस्यहरुलाई शपथ गराएका हुन् ।

गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिएको हो ।

१९ जनामध्ये १८ जना सदस्यको माघ ११ गते निर्वाचन भएको हो । एक जना सदस्यलाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् । राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेका ८ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक जना सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रियसभा सदस्य को कस्ता ?
महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले पटक पटक प्रतिनिधि सभा सदस्य भएर काम गरिसकेका छन् । नेपाली कांग्रेसबाट राजनिति सुरु गरेका ठाकुर कांग्रेसको कोषाध्यक्ष समेत बनेका थिए । तर उनी २०६२/६३ मा भएको मधेश आन्दोलनमा कांग्रेस छाडेर मधेशकेन्द्रित राजनितिमा लागेका हुन् । ठाकुर २०४८ सालमै कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर उपसभामुख बनेका थिए । उनी २०५१, २०६४, २०७०, २०७४ र २०७९ मा उम्मेद्वार बनेका थिए । उनी २०६४ र २०७० को निर्वाचनमा भने पराजित भए ।

सुनिलबहादुर थापा
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित भएका सुनीलबहादुर थापा राष्ट्रिय सभा सदस्य हुनुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राजनितिक सल्लाहकार थिए । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे उम्मेद्वार दर्ता गर्न समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन नसकेपछि थापा निर्विरोध निर्वाचित भएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनिति सुुरु गरेका थापा हाल नेपाली कांग्रेसमा छन् । थापाले यसअघि संविधानसभा सदस्य र मन्त्री भएर काम गरेका छन् । २०७० सालमा धनकुटा क्षेत्र नम्बर–२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि उनी २०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा वाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने उनी पराजित भए । थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

रामकुमारी झाँक्री
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी रामकुमारी झाँक्री प्रतिनिधि सभाकी पूर्वसदस्य तथा पुर्वमन्त्री हुन् । नेकपा एमालेले २०७४ मा झाँक्रीलाई समानुपातिक सांसद बनाएको थियो । पछि उनी एमाले विभाजन हुँदा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी शहरी विकास मन्त्री समेत भइन् । २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा एकिकृत समाजबादी बाट नै प्रत्यक्ष निर्वाचन लडेकी उनले पराजय भोग्नुपर्‍यो । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी लगायतको पार्टी एकीकरणप्रति विमति जनाउँदै एमालेमा फर्कि
एकी झाँक्रीलाई एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बनाएको हो । उनी हाल एमालेको केन्द्रिय सदस्य रहेकी छन् । झाँक्री एमालेको भ्रातृसंस्था अनेरास्ववियुको पूर्वअध्यक्ष समेत हुन् ।

ललितजंग शाही
नेपाली कांग्रेसको तर्फवाट कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाहीले संविधान सभा सदस्यको रुपमा काम गरिसकेको छन । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा जुम्लाबाट उनी निर्वाचित भएका छन् । २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएपनि उनलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । शाही नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापति समेत हुन् । शाही २०५१ र २०५६ सालमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वार बनेका थिए भने २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेर चुनाव जितेका थिए ।

रोशनी मेचे
रोशनी मेचेलाई नेकपा एमालेले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उनी सीमान्तकृत मेचे समुदायकी हुन् । रोशनीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गरेकी थिइन् । मेचेले समाजशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् ।

धमेन्द्र पासवान
मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । उनलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको हो । कांग्रेसको भ्रातृसंस्था नेपाल दलित संघको महासचिव भएर काम गरिसकेका छन । रौतहट निवासी पासवानले राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।

रञ्जित कर्ण
मधेस प्रदेशबाट नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय अध्यक्ष हुन । उनले २०७० सालको संविधानसभा सदस्य भएर पनि काम गरेका छन । विद्यार्थीकालदेखि नै कांग्रेसमा सक्रिय नेता कर्ण ईन्जिनियर हुन् ।

रेखा झा
रेखा झालाई नेकपा एमालेले मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । नेकपा एमालेको मधेस प्रदेशकी सदस्य झालाई दुईपटक एमालेले समानुपातिक सूचीमा राखेको थियो । समानुपातिकबाट सांसद बन्न असफल झा राष्ट्रिय सभा सदस्य बन्न सफल भए । झाले अर्थशास्त्र र सामाजिक शास्त्रमा स्नातक गरेकी छन् । उनले विगतमा मानवअधिकार एलायन्समा आवद्ध भई अधिकार र न्यायका पक्षमा काम गर्दै आएका छन् ।

सोम पोर्तेल
दलित कलस्टर अन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका सोम पोर्तेलसँग जिल्ला समन्वय समिति सभापति भएर काम गरेको अनुभव छ । पोर्तेलले नेकपा एमालेको वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गरेका थिए । २०३५ साल फागुनमा जन्मिएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ । उनी २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख थिए ।

डा. प्रेम दंगाल
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका डा. प्रेम दंगाल एमालेका केन्द्रिय सदस्य हुन् । उनले त्रिभूवन विश्वविद्यालयबाट ‘ग्रामीण अर्थतन्त्र र खाद्य सम्प्रभुता’ विषयमा विद्यावारिधिगरेका छन् । लामो समयदेखि अखिल नेपाल किसान महासङ्घमा उनी हाल महासङ्घको केन्द्रिय अध्यक्ष हुन् ।

गीता देवकोटा
गीता देवकोटालाई नेपाली कांग्रेसले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । २०४४ सालबाट नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिकमा प्रवेश गरेकी देवकोटा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन् । उनी मौरीपालक किसान महासंघका उपाध्यक्ष हुन् ।

जगत तिमिल्सिना
त्रिभूवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत जगत तिमिल्सिनालाई नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनाएको हो । उनी २०७३ सालदेखि कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघको अध्यक्ष हुन् ।

सम्झना देवकोटा
लगातार तीन वटा निर्वाचनमा पराजय भोगेकी एमालेकी सम्झना देवकोटा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेकी छन् । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयर र २०७९ को निर्वाचनमा सोही नगरपालिकामा मेयरको उम्मेदवार बनेकी छन् । तर दुबै निर्वाचनमा उनी पराजित भएकी हुन । २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि देवकोटालाइ एमालेले उम्मेदवार बनाएको थियो तर त्यसपटक पनि उनले जित्न सकिँनन् । तर २०८२ सालमा भएको कांग्रेस एमालेको गठबन्धनले उनलाई निर्वाचन जित्न सहज बनाईदिएको हो ।

मिना रखाल
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी मिना रखाल एमालेकी नेतृ हुन् । दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य भएकी थिइन् ।

चन्द्रबहादुर केसी
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा चन्द्रबहादुर केसी गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाड गाउँका स्थायी बासिन्दा हुन् । बहुदलीय व्यवस्थाको उदयपछि गुल्मीको राजनीतिमा चन्द्र केसी चर्चित भएका हुन् । २०५६ सालमा गुल्मीको साविक निर्वाचन क्षेत्र नम्बर २ बाट र २०७४ सालमा हालको क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बनेका थिए । तर उनी पराजित भए । केसी २०४९ सालमा जिल्ला विकास समिति गुल्मीको सभापति तथा २०६७ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सभापति भएका थिए । उनले २०२९ सालमा नेपाल विद्यार्थी संघबाट राजनिति सुुरु गरेका हुन् ।

वासुदेव जंगली
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको वासुदेव जंगली नेपाली कांग्रेसको पुराना नेता हुन् । दाङ जिल्लाका जंगलीलाई नेपाली कांग्रेसले अपांग कोटाबाट राष्ट्रिय सभा सदस्य बनाएको हो ।

खम्मबहादुर खाती
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य भएका खम्मबहादुर खाती नेपाल बार एशोसिएशनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । उनले नेपाली कांग्रेसका पुर्व पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएर काम गरेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका खाती २०४८ सालदेखि निरन्तर वकालत पेसामा सक्रिय छन् । उनले काठमाडौं जिल्ला बार एशोसियसनको नेतृत्वदेखि २०७२ सालमा नेपाल बार एशोसियसनको महासचिव बनेर काम गरिसकेका छन् । उनी २०५३ सालको स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

लीलाकुमारी भण्डारी
लीला भण्डारी सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेकी छन् । उनी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष निर्वाचित संविधान सभा भएका थिए तर २०७० सालमा भने पराजित भए ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचिनको लागी नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले गठबन्धन गरेका थिए भने नेपाली कम्युनिष्ट पार्टी एक्लै सहभागी भएको थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका थिए । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?