काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा आएको लज्जास्पद नतिजाप्रति प्रतिक्रिया दिँदै पार्टी ‘मरेको नभई ढलेको मात्र’ भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटसमा भट्टराईले एमालेको हालको स्थिति केवल नीति समस्या मात्र नभई जिम्मेवारीमा रहेका सबै तहगत कमिटी र नेताहरूको संयुक्त जिम्मेवारी भएको उल्लेख गरेका छन् ।
उनले भने, ‘केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै अपजसको भारी बोक्नु पर्दछ, सफलता वा असफलताको जवाफदेहिता प्रमुख नेतामा नै रहन्छ ।’
भट्टराईले पूर्वाग्रह, भावना र षड्यन्त्रबाट माथि उठेर गम्भीर छलफल आवश्यक रहेको र पार्टीभित्र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उपमहासचिव भट्टराईले सात बुँदामा पार्टीका सबै सदस्यलाई सम्बोधन गर्दै लेखेका छन्, ‘कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ । सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्ने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमान फेरि उठाउने छौँ ।’
उनी संयम, धैर्यता र एकता कायम राख्दै एमालेलाई सही मार्गमा अघि बढाउने अपिल पनि गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया