धनुषा–१ मा ‘विजयी’ मातृका यादवलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति

लोकपथ
301
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै विजयी भइसकेपछि पनि प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नभएको बताएका हुन् ।

आचार्यद्वारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भएको उल्लेख गरिएको छ । उक्त मतगणनाबाट नेकपाका उम्मेदवार यादव विजयी भइसकेको दाबी गरिएको छ ।

तर विजयी घोषणा भइसकेपछि पनि प्रमाणपत्र दिन ढिलाइ गरिनुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत काम भएको भन्दै नेकपाले चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन।’

नेकपाले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोक्न र विजयी उम्मेदवारलाई यथाशीघ्र प्रमाणपत्र उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?