काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला समानता कुनै उपहार वा टोकन नभई नैसर्गिक मानव अधिकार भएको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा डंगोलले समाजमा अझै पनि महिलामाथि प्रश्न उठाउने विभेदपूर्ण मानसिकता कायम रहेको भन्दै त्यसको अन्त्य आवश्यक रहेकोमा जोड दिएकी छन् ।
कार्यक्रममा उनले समाजको दोहोरो मापदण्डप्रति गुनासो व्यक्त गर्दै भनिन्, ‘पुरुषहरुलाई सुरुमै सक्षम मानिन्छ, कामले असक्षम नदेखाएसम्म उनीहरू सक्षम नै मानिन्छन्। तर महिलाहरूको क्षमता पुष्टि नहुँदा उनीहरूलाई असक्षम नै भनिरहन्छ । जबसम्म यस्तो सोच परिवर्तन हुँदैन, महिला दिवसले हामीलाई महिला क्षमताबारे सम्झाइरहिरहनेछ ।’
डंगोलले प्रविधिको विकाससँगै महिलाहरूमाथि हुने हिंसाको स्वरूप परिवर्तन भएको भन्दै चिन्ता व्यक्त गरिन् । विशेष गरी सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग हुँदै महिलामाथि ‘नदेखिने हिंसा’ भइरहेको उनको भनाइ छ ।
साथै डंगोलले आधुनिक प्रविधिको सकारात्मक पक्ष भए पनि यसको दुरुपयोग रोक्न र महिलाविरुद्ध हुने विभेदपूर्ण क्रियाकलापलाई समाजबाट निर्मूल पार्न आवश्यक रहेको औँल्याइन् । उनले महिलाको विषय केवल महिलाको मात्र नभई सम्पूर्ण समाज र पुरुषहरूको पनि विषय भएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया