काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
आयोगका संयोजक गौरीबहादुर कार्कीले प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयनमा नल्याए युवाहरूबाट फेरि आन्दोलन उठ्न सक्ने चेतावनी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूसामु आफूले प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको उनले बताए । कार्कीका अनुसार प्रतिवेदन सार्वजनिक नगरिए र कार्यान्वयनमा नलगिए जेनजीका युवाहरू पुनः आन्दोलनमा उत्रिन सक्ने सम्भावना रहेको उनले सरकारलाई सचेत गराएका छन् ।
प्रदर्शनका क्रममा २३ र २४ गते भएका घटनाको आयोगले सूक्ष्म अध्ययन तथा तथ्य अन्वेषण गरेको जनाएको छ । २३ गते भएको घटनामा किशोरहरूको ज्यान जाने अवस्थासम्म पुगेको भन्दै त्यसमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको कार्कीले जानकारी दिए । दोषीहरूको नाम भने प्रतिवेदन सार्वजनिक भएपछि मात्र खुल्ने उनले बताए ।
आयोगले गोली हान्ने, हान्न लगाउने तथा गोली रोक्न नसक्ने सबै जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको कार्कीको भनाइ छ ।
प्रतिवेदन बुझाउन ढिलाइ भएको विषयमा आएका अड्कलबाजीबारे बोल्दै उनले चुनावको नतिजा कुरेर वा कसैलाई बचाउन खोजेर प्रतिवेदन ढिलाइ गरिएको भन्ने कुरा सत्य नभएको स्पष्ट पारे । उनका अनुसार आयोगले देखेका प्रमाण र तथ्यका आधारमा दोषी देखिएका व्यक्तिहरूमाथि कारबाहीको सिफारिस गरेको छ ।
सरकारले जाँचबुझ आयोग ऐनअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाहीको सिफारिस गर्न उक्त आयोग गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया