काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा महिलामाथि हुने विभेद र असमानता अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताएका छन् ।
११६औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले महिला अधिकारसम्बन्धी धेरै कानुन बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका हुन् ।
उनका अनुसार आयोगले द्वन्द्वकालदेखि हालसम्म महिला हिंसासम्बन्धी परेका उजुरीहरूको अध्ययन गरी आवश्यक कारबाहीका लागि सरकारलाई सिफारिस गर्दै आएको छ । पीडित महिलालाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन पनि आयोगले सरकारलाई पटक–पटक सिफारिस गरेको उनले बताए ।
तर ती सिफारिसहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यसप्रति गुनासो व्यक्त गरे । आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
मगरले विगतको तुलनामा नेपालमा महिला अधिकारका क्षेत्रमा केही सकारात्मक सुधार भएको बताए । विशेषगरी महिलाले छोरासरह सम्पत्तिको अधिकार पाउने व्यवस्था कानुनमै सुनिश्चित भएको उनको भनाइ छ ।
उनले आयोगभित्र महिला हिंसासम्बन्धी उजुरी हेर्ने छुट्टै डिभिजन रहेको जानकारी दिँदै त्यस्ता उजुरीमा अनुसन्धान गरी कारबाहीका लागि सरकारलाई सिफारिस गरिँदै आएको बताए ।
नयाँ बन्ने सरकारले मानवअधिकार तथा विशेषगरी महिला अधिकारका क्षेत्रमा आवश्यक कानुनी सुधार र प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने विश्वास आयोगले गरेको मगरले बताए ।
उनले महिलालाई पर्याप्त अवसर उपलब्ध गराइए उनीहरू सबै क्षेत्रमा सक्षम रूपमा काम गर्न सक्ने पनि उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया