काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुलीले हालै सम्पन्न निर्वाचनमा उल्लेख्य संख्यामा महिलाहरू प्रत्यक्ष निर्वाचित भएकोले समाज र राजनीतिमा सकारात्मक सन्देश गएको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको ११६औँ अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले महिलाले चुनाव जित्दैनन् भन्ने पुरानो मान्यतालाई यस निर्वाचन परिणामले तोडिदिएको बताइन् ।
उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामान्य तथा सार्वजनिक जीवनमा धेरै पहिचान नबनाएका महिलाहरूले समेत ‘हेभीवेट’ भनिएका पुरुष उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका छन् । यसले महिलाहरूलाई अवसर दिइए उनीहरू नेतृत्वमा अघि आउन सक्ने कुरा प्रमाणित गरेको उनले उल्लेख गरिन् ।
अध्यक्ष पराजुलीले लामो समयदेखि राजनीतिक दलहरूले महिलाले चुनाव लड्न र जित्न सक्दैनन् भन्ने धारणा राख्दै आएको उल्लेख गर्दै यसपटकको परिणामले त्यस्तो सोचलाई चुनौती दिएको बताइन् ।
यद्यपि, निर्वाचन अभियानका क्रममा सुशासन, विकास र परिवर्तनका विषयमा व्यापक बहस भए पनि राजनीतिक दलका घोषणापत्रहरूमा लैङ्गिक समानता, महिला अधिकार, लैङ्गिक न्याय, महिला सशक्तीकरण तथा निर्णय प्रक्रियामा महिलाको पहुँचका विषय पर्याप्त रूपमा समेटिन नसकेको उनको भनाइ थियो ।
देश निर्माण र परिवर्तनको बहस चलिरहँदा महिलासम्बन्धी मुद्दा प्राथमिकतामा नआउनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा राजनीतिक दलहरूले नीति तथा कार्यक्रम निर्माण गर्दा लैङ्गिक समानता र महिला अधिकारका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया