प्रतिवेदन बुझाएपछि आयोगले भन्यो– ‘तथ्यका आधारमा सुझाव दिएका छौँ, निर्णय सरकारको’

लोकपथ
147
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।

आयोगले विशेषगरी फागुन २३ र २४ गते भएका घटनाहरूको विस्तृत अध्ययन तथा तथ्य अन्वेषण गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो ।

आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार प्रतिवेदनमा घटनाका आधारमा आवश्यक कारबाही गर्न तथा राम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्न सिफारिस गरिएको छ ।

उनका अनुसार आयोगले तयार पारेको मुख्य प्रतिवेदन करिब ९ सयभन्दा बढी पृष्ठको रहेको छ । अनुसूची र अन्य प्रमाणसहित सम्पूर्ण दस्ताबेज भने करिब ८ देखि १० हजार पृष्ठको रहेको जानकारी उनले दिए ।

शर्माका अनुसार प्रतिवेदनमा फागुन २३ र २४ गतेका घटनाहरूलाई मसिनो रूपमा विश्लेषण गरिएको छ । जाँचबुझका क्रममा आयोगले २ सयभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरेको थियो । यसका साथै विभिन्न व्यक्तिहरूको बयान लिने, साक्षी, पीडित र विशेषज्ञहरूसँग राय–सुझाव संकलन गर्ने काम पनि गरिएको आयोगले जनाएको छ ।

शर्माले भने, ‘प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरूको तथ्य अन्वेषण गर्ने प्रयास गरेका छौँ । हामीले देखेका, बुझेका र प्रमाणका आधारमा रायसुझाव दिएका छौँ । अब यो सम्पत्ति सरकारको भयो, सरकारले आवश्यक कारबाही वा पुरस्कृत गर्ने जस्ता कदम चाल्नेछ ।’

प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले आयोगलाई धन्यवाद दिएको पनि उनले बताए । साथै प्रतिवेदन अब सरकारको सम्पत्ति भएको र यसमाथि आवश्यक कदम चालिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?