काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताएका छन् ।
निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकको नेतृत्व गर्नेगरी जनमत दिएको स्वीकार गर्दै शर्माले कांग्रेस लगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने बताए ।
उनले तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने स्पष्ट पारे ।
शर्माले निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई काँग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
पार्टीले विशेष महाधिवेशनमार्फत आफूलाई बदलेको सन्देश जनतामा लिएर जाने प्रयास गरे पनि त्यसका लागि पर्याप्त समय नपाएको उनको गुनासो छ ।
विशेष महाधिवेशन सकिएको ५० दिन पुग्दा नपुग्दै निर्वाचनमा जानुपरेको उल्लेख गर्दै उनले कांग्रेसको अवस्थालाई ’इन्जुरी टाइम’ मा मैदानमा उत्रिएको खेलाडी र भर्खरै अस्पतालबाट डिस्चार्ज भएर रेस्लिङ खेल्न पठाइएको बिरामीसँग तुलना गरे ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ । त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै । यसको सम्पूर्ण दोष बोक्नैपर्छ भने म बोक्न तयार छु, हामी बोक्न तयार छौँ ।’
उनले यी सबै प्रतिकूलताका बाबजुद जनतालाई बुझाउन नसकेकोमा आत्मालोचना गर्दै पार्टीलाई रूपान्तरण गरेरै छोड्ने दृढता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया