जनार्दन शर्माको ‘विजयी यात्रा’मा ब्रेक, नेकपाका गोपाल शर्मा विजयी हुँदा जनार्दन तेस्रो

लोकपथ
154
Shares

रुकुम पश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी .(नेकपा) का उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । उनको विजयसँगै यहाँबाट लगातार जित्दै आएका जनार्दन शर्माको ‘विजयी यात्रा’मा ब्रेक लागेको छ । 

नेकपाका गोपाल शर्माले २१ हजार ६ सय ९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् । गोपाल शर्मा र केसीको बीचमा ४ हजार ९ सय ४८ मतान्तर रहँदा जनार्दन शर्मा तेस्रो बनेका छन् । उनले १४ हजार ३ सय ४६ मतमा चित्त बुझाउनु परेको छ । 

एकमात्र निर्वचन क्षेत्र रहेको रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकोमा ६२ हजार ९ सय ६७ मत खसेको थियो । यहाँ १२ जनाको उम्मेदवारी थियो । 

यसअघिका सबै निर्वाचनमा साबिक माओवादीबाट उठेर भारी मतान्तरले जित्दै आएका जनार्दन शर्मा यो पटक प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उठेका थिए । एकता प्रक्रियामा असहमति जनाउँदै उनी प्रलोपामा आबद्ध भएका थिए । 

त्यसो त एमालेका उम्मेदवार नन्दराम देवकोटा र उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले व्यवहारिक रूपमा आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै जनार्दन शर्मालाई समर्थन पनि गरेका थिए । त्यति हुँदा पनि एमालेका देवकोटालाई १ हजार ८ सय ६९ र उज्यालो नेपाल पार्टीका केसीलाई ८४ मत प्राप्त भएको थियो । यो समर्थनले पनि उनी विजयी हुन सकेनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?