अब देशमा भ्रष्टाचारको अन्त्य र सुशासन सुरु हुन्छ : रास्वपा उपसभापति अर्याल

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका डीपी अर्यालले अब देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात हुने दाबी गरेका छन् । शनिवार बिहान विजयी भएको प्रमाणपत्र ग्रहणपछि मतदातालाई धन्यवाद दिँदै देश अब सुशासनतर्फ अगाडि बढेको बताएका हुन् ।

निर्वाचन प्रमाणपत्र मतदाता, शुभेच्छुक तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै अर्यालले यो जित आफ्नो व्यक्तिगत नभई सम्पूर्ण नेपाली जनताको जीत भएको बताए । उनले काठमाडौं क्षेत्र नम्बर ९ बाट उपत्यकामै सबैभन्दा बढी मतान्तरले प्राप्त गरेको जितलाई जनताको अथाह माया र विश्वासको रूपमा व्याख्यासमेत गरे ।

अर्यालले निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रहेका अन्य २२ जना उम्मेदवारहरूप्रति विशेष आभार व्यक्त गर्दै भने, ‘कैयौँ ठाउँमा हेर्दा हामी फरक दल भए पनि सुसंस्कृत र लोकतान्त्रिक राजनीतिमा हामी एक अर्कालाई अँगालो मार्दै शुभकामना आदान-प्रदान गर्दै हिँडेको बताए ।

अर्यालले आफ्नो प्रतिस्पर्धा व्यक्तिगतरुपमा कसैसँग नरहेको बताउँदै भने, ‘मेरो प्रतिस्पर्धा यो देशमा रहेको कुशासन र भ्रष्टाचारीसँग मात्रै हो । मैले कहिल्यै पनि मेरा सहपाठी, अन्य दलका साथीहरूसँग प्रतिस्पर्धा गरेको ठानिन । हामीले कसैको नाम लिएनौँ, नाम लियौँ भने हाम्रा मतदाताहरूको मात्रै नाम लियौँ । त्यस कारण मेरो जीत कुशासनविरुद्ध जनताको आक्रोशको जीत हो ।’

यस पटकको निर्वाचन नेपालको इतिहासमा कोशेढुंगा साबित हुने दाबी गर्दै अर्यालले भने, ‘यस पटकको निर्वाचन फरक छ । जनताले यसलाई प्रमाणित गरिरहनुभएको छ । अब देश समृद्धितर्फ अगाडि बढ्छ, सुशासन कायम हुन्छ र भ्रष्टाचार अन्त्यको सुरुवात हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै अर्यालले अगाडि भने, ‘रास्वपाले निलो झन्डा त्यसै बोकेको थिएन । यो पार्टी केवल नेता, मन्त्री वा प्रधानमन्त्री बन्नका लागि स्थापना भएको होइन । हामीले भ्रष्टाचारको अन्त्य, सुशासन र समृद्धि खोजेका हौँ, अब बिस्तारै त्यस दिनतर्फ अगाडि बढ्नेछ ।’

अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँगको भेटवार्ताको सन्दर्भ जोड्दै भने, ‘यदि यस पटक बहुमत आएन भने मेरो जीवनकालमा कहिल्यै नआउने मैले भनेको थिएँ । जुन तपाईँहरूले गरेर देखाउनुभयो ।’

रास्वपाले विजय उत्सव नमनाउने घोषणा र निर्देशन दिइसकेको भन्दै उनले भने, ‘अहिले हामी फूलमाला र अबिर जात्रामा रमाउने समय होइन । तपाईँहरूले हामीलाई काम गर्नका लागि स्थान प्राप्त गराइदिनुभएको हो । तपाईँहरूको एक-एक मतको लगानीको प्रतिफल हामी काम गरेर दिनेछौँ । त्यसपछि मात्र फूलमाला सहित तपाईँहरूकहाँ आउनेछौँ ।’

उनले आफ्नै निर्वाचन क्षेत्र अर्थात् काठमाडौं ९ का मतदातालाई सम्बोधन गर्दै भने, ‘तपाईँहरूले मन र मस्तिष्कमा राखेको इमानदारितालाई अक्षरशः पालन गर्नेछु । ९ नम्बरको मतदाताले हामीलाई न्याय गर्‍यो भन्ने किसिमले, तपाईँहरूलाई अन्याय नहुने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु । ९ नम्बरको न्याय हुनेछ, यो देशको न्याय हुनेछ, नेपाली जनताले जित्नेछन् ।’

सम्बोधनको अन्तमा अर्यालले आगामी सरकार ५ वर्षको स्थिर सरकार रहने भन्दै देश सुशासन तथा समृद्धिको बाटोमा अग्रसर हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?