काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु न्यौपाने काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले आफ्नो जितलाई वैकल्पिक र विवेकशील राजनीतिको विजय भएको प्रतिक्रिया दिएकी छन् ।
शुक्रबार निर्वाचन परिणामको औपचारिक घोषणा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयदेखि मतदातालाई निराश बनाउने राजनीतिक शक्तिहरूलाई मतदाताले यसपटक स्पष्ट सन्देश दिएको बताइन् ।
उनले ३५–३६ वर्षदेखि नेपाली मतदाताले भोग्दै आएको राजनीतिक निराशाप्रति असन्तुष्टि व्यक्त गर्दै मतदाताले धोका दिनेहरूलाई अब ढोका बन्द गर्ने निर्णय सुनाएको दाबी गरिन् ।
काठमाडौं–१ का मतदाताले बहुमतले निर्वाचित गराएकोमा आभार व्यक्त गर्दै उनले अबको वास्तविक चुनौती काम गरेर देखाउनु रहेको बताइन् ।
उनले भनिन्, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको थियो । हामीले पनि विशेष रणनीति अपनाएका थियौँ र मतदाताले पनि विशेष प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि मतदातालाई धोका दिनेहरूलाई अब ढोका बन्द गरिदिन्छौँ भन्ने सन्देश मतदाताले दिनुभएको छ । यो हाम्रो लागि निकै सुखद भए पनि चुनौतीपूर्ण पनि छ ।’
न्यौपानेले यस्तो महत्वपूर्ण जितपछि जनताका अपेक्षा पूरा गर्न काम गरेर देखाउनुपर्ने बताउँदै अब ‘वास्तविक लडाइँ सुरु भएको’ उल्लेख गरिन् । साथै उनले काठमाडौं–१ का सबै मतदाताप्रति कृतज्ञता व्यक्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया