काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाउने काम गरेको बताएका छन् ।
निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा गुणस्तरीय रूपमा सम्पन्न भएको दाबी गर्दै उनले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताए ।
गृहमन्त्री अर्यालका अनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था सिर्जना हुन सक्थ्यो ।
यसपटकको निर्वाचनमा रगतको एक थोपा पनि नबगेको उल्लेख गर्दै उनले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गरे ।
उनका अनुसार विगतका निर्वाचनहरूमा धेरै स्थानमा झडपका कारण मतदान स्थगित गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने अवस्था रहन्थ्यो । तर यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले बताए ।
यसलाई चुनावी सरकारको ठूलो सफलता मान्दै उनले अब राजनीतिक सुशासनका लागि नयाँ मानक तय भएको स्पष्ट पारे । भविष्यमा आउने सरकारले पनि यी मानकहरूलाई कमजोर पार्न नसक्ने गरी संस्थागत गर्नुपर्ने उनले बताए ।
सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको दाबी गर्दै गृहमन्त्री अर्यालले यसले लोकतन्त्रलाई थप सुदृढ बनाएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया