काठमाडौं । विगतमा जननेता मदन भण्डारी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितेको काठमाडौं–१ मा यो पटक एमालेका उम्मेदवारको जमानत नै जफत भएको छ ।
निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ । यो प्रावधानअनुसार एमाले उम्मेदवार मोहनराज रेग्मीको जमानत जफत भएको हो ।
यस क्षेत्रमा सबै उम्मेदवारले प्राप्त गरेको मत जोड्दा कुल सदर मत २९ हजार ८२ कायम भएकोमा धरौटी जोगाउन कुल सदर मतको कम्तीमा १० प्रतिशत अर्थात् २ हजार ९ सय ८ भन्दा बढी मत ल्याउनुपर्ने हुन्थ्यो । तर एमाले उम्मेदवार रेग्मीले १ हजार ६ सय १८ मत मात्र प्राप्त गरेका छन् ।
काठमाडौं–१ मा २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यहाँ रास्वपाकी रन्जु न्यौपाने विजयी भएकी छिन् । उनी १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन् । यहाँ कांग्रेस उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाए । यस्तै, राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरे ।
यहाँ उज्यालो नेपाल पार्टीका मंगलाल श्रेष्ठले ४ सय ६६ मत, श्रम संस्कृति पार्टीका समिर लामा तामाङले ४ सय २६ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३ सय ४५ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र नेकपा माओवादी जस्ता दलका उम्मेदवारले सय मत पनि पाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया