इलाममा ५७ प्रतिशत मतदान, मतगणना शुक्रबार बिहानदेखि

लोकपथ
0
Shares

इलाम । इलाममा आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार दुई लाख ३१ हजार ८०९ मतदातामध्ये एक लाख ३१ हजार ३९ जनाले मतदान गरेका छन् ।

जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष गरी ६४ हजार १०४ जनाले मतदान गरेका छन् । उक्त क्षेत्रमा ५३ हजार ६४६ महिला, ५८ हजार ६७३ पुरुष र एक जना अन्यसहित एक लाख १२ हजार ३२० मतदाता रहेका थिए ।

त्यसैगरी, क्षेत्र नं २ मा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य गरी ६६ हजार ९३५ जनाले मतदान गरेका छन् । सो क्षेत्रमा ५८ हजार ५१२ महिला, ६० हजार ९७५ पुरुष र दुई जना अन्यसहित एक लाख १९ हजार ४८९ मतदाता रहेका थिए ।

इलामका १५० मतदानस्थलमा रहेका २९० मतदान केन्द्रमा बिहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान भएको थियो । निर्वाचन जिल्लाभर शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रजिअ ढकालले जानकारी दिए ।

सबै स्थानबाट मतपेटिका ल्याउन समय लाग्ने भएकाले मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु गर्ने तयारी गरिएको छ ।

सदरमुकामबाट टाढा रहेका चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्ने जनाइएको छ । ‘दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याइपुर्‍याउन बिहान १ देखि २ बजेसम्म लाग्न सक्छ,’ प्रजिअ ढकालले भने, ‘बिहान ८ देखि ९ बजेसम्म सर्वदलीय बैठक राख्ने तयारी छ । सो बैठकको निर्णयअनुसार मतगणना सुरु हुनेछ ।’

मतगणनाका लागि क्षेत्र नं १ को मतगणना इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा र क्षेत्र नं २ को मतगणना सूर्योदय नगरपालिकाको सभाहलमा गर्ने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए ।

दुवै स्थानमा तारजाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने व्यवस्था गरिएको छ भने प्रतिनिधिहरूका लागि बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ ।

इलाम क्षेत्र नं १ मा १३ दल र क्षेत्र नं २ मा एक स्वतन्त्रसहित १४ गरी जम्मा २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?