प्रधानमन्त्री कार्कीद्वारा कतारका प्रधानमन्त्रीसँग टेलिफोन संवाद : नेपालीको सुरक्षाबारे कुराकानी

लोकपथ
105
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरी पश्चिम एसियामा पछिल्ला दिनमा भएका घटनाक्रमप्रति आफ्नो चिन्ता व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका करिब तीन लाख ६० हजार नेपाली नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएकी छन् ।

वार्ताका क्रममा उनले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सबै राष्ट्रले संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि र मानवीय कानुनको पालना गर्नुपर्नेमा जोड दिइन् । उनले युद्ध कुनै बहानामा शान्तिको विकल्प हुन नसक्ने भन्दै, दीर्घकालीन शान्ति सुनिश्चित गर्न वार्ता र कूटनीतिको माध्यममात्र प्रभावकारी हुने बताइन् ।

त्यसैगरी, दुई मुलुकबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत अझ प्रगाढ हुने विश्वास पनि उनले व्यक्त गरिन् ।

कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थानीले नेपाल–कतारबीचको सुमधुर र मित्रवत् सम्बन्धको प्रशंसा गर्दै वर्तमान परिस्थितिमा कतारले रचनात्मक भूमिका खेल्न सक्षम हुनेमा आफ्नो विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?