निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छ : सुरेन्द्र पाण्डे

लोकपथ
112
Shares

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनै पनि दलले स्पष्ट बहुमत पाउने सम्भावना कम भएको बताएका छन् ।

पूर्वी चितवनको राप्ती–५ मा मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले भने, ‘यो निर्वाचन भदौ २३–२४ पछि देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीको रूपमा आएको छ । मेरो अपेक्षा छ कि यसले मुलुकमा स्थायित्व, शान्ति र आर्थिक समृद्धिको बाटो खोलोस् ।’

उनले नेपालको ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणालीले एकल बहुमत रोक्ने कारणले निर्वाचनपछि स्थायित्व पाउन कठिन हुने तर्क गरे । पाण्डेले छिमेकी बङ्गलादेशको उदाहरण दिँदै, त्यहाँ चुनावसँगै जनमत सङ्ग्रह गरेर सरकार र प्रधानमन्त्रीको कार्यकाल सुनिश्चित गरिएको उल्लेख गरे, तर नेपालमा दलहरू केवल सरकार बनाउने र प्रधानमन्त्री तोक्ने प्रतिस्पर्धामा लागेको बताए ।

पाण्डेले आर्थिक विकास, डिजिटल सूचना र मानव भावना जस्ता कारकहरूले चुनावमा प्रभाव पार्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए । उनी नेपालको राजनीतिक इतिहासको सन्दर्भ दिँदै भने, ‘७४ को चुनावमा एमाले र माओवादी मिलेर बहुमत ल्याएका थिए, तर समानुपातिक प्रणाली लागू भएपछि कुनै पनि दलको बहुमत कठिन हुन्छ ।’

अन्तरिम सरकारले चुनाव गराउन नसक्ने आशंकाका बिच प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा पाण्डेले धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?