देशभर मतदान जारी, अत्यावश्यक सवारी साधन र हवाई सेवा सञ्चालनमा 

लोकपथ
42
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज बिहीबार देशभर मतदान भइरहेको छ । 

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

 सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । उनकाअनुसार अत्यावश्यक सेवा, कुटनीतिक नियोग र निर्वाचन आयोगले तोके बमोजिमका पास भएको सवारी साधन मात्रै सञ्चालन गर्न दिइएको छ । 

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वायुसेवाका उडानहरू भने नियमित रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए । हवाई उडानको टिकट भएका यात्रुहरूलाई यात्रा गर्नको लागि विमानकम्पनीहरुले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न पाउनेगरि आयोगले व्यवस्था गरेको छ । 

उनले भने, ‘आज प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी मतदानको कार्य मुलुकभर भइरहेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने सिलसिलामा निर्वाचन आयोगले निर्वाचन सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै निर्वाचनको मतदानको दिन सवारी साधन सञ्चालनमा केही विशेष व्यवस्था गरेको छ । जस अन्तर्गत निर्वाचन आयोगले सवारी पास उपलब्ध गराएका कुटनीतिक नियोगका निलो प्लेट भएका, अति आवश्यक सेवाका दमकल, शव वाहन जस्ता अति आवश्यक सेवाका सवारीसाधनहरू सञ्चालन हुन्छन् । त्यसैगरि अन्तर्राष्ट्रिय वायुसेवाहरू र राष्ट्रिय वायुसेवाहरू पनि यो अवधिमा सञ्चालन हुन्छन् । यसरी सवारीसाधन व्यवस्थापनमा सबै महानुभावहरुले आ–आफ्नो तरिकाले सहज हुने गरी सवारीसाधनको व्यवस्थापन गर्न र गराउनेको लागि निर्वाचन आयोग सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्दछ ।’

आयोगले निर्वाचनको सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वसाधारणलाई अनावश्यक सवारी सञ्चालन नगर्न आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?