काठमाडौं । ‘जेनजी आन्दोलन’पछिको विशेष तथा संवेदनशील राजनीतिक परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणालीतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान हुँदैछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा भइरहेको छ । यस प्रणालीतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी कुल तीन हजार ४ सय ६ उम्मेदवार चुनावी मैदानमा छन् ।
समानुपातिक प्रणालीतर्फ एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
यस निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र दुई अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । साथै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम गरिएको छ ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् भने १ सय ४३ अस्थायी मतदानस्थल पनि निर्धारण गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवतीलाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान विभाग र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन सम्पन्न गर्न दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ ।
आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको जनाएको छ ।
यसपटक चार अन्तरराष्ट्रिय तथा ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले मतदातालाई उत्साहजनक सहभागितासहित निर्धक्क मतदान गर्न आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया