मतपेटिका कुनै हालतमा साटिँदैन, हल्लाको पछि नलागौँ : आयोग

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हेलिकोप्टरबाट ढुवानी गर्दा मतपेटिका साटिने भनेर चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने बताए । परम्परागत रूपमै तीन तहको सुरक्षा घेराभित्र मतपेटिका राखिने उनको भनाइ छ ।

मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र त्यसमा प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने बताए । मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी रहने पुरानै व्यवस्था कायम रहेको उनले जानकारी दिए ।

कतिपय ठाउँमा हेलिकोप्टरमा मतपेटिका हालेपछि मतपेटिका नै परिवर्तन हुन्छ रे भन्ने सुनेको छु, त्यो किञ्चित होइन, कुनै हालतमा हुँदैन,‘भण्डारीले भने, ‘मतगणना गर्ने बेलामा दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप ठिक छ कि छैन भनेर हेरेर मुचुल्का बनाएपछि मात्र मतगणना सुरु हुन्छ । त्यसैले यस्ता शंका र उपशंकामा कुनै सत्यता छैन ।

दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन नेपाली सेनाको भरपर्दो र सुरक्षित हेलिकोप्टर प्रयोग गर्न लागिएको भन्दै उनले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?