काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र व्यवस्थापनका क्रममा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरूको निधन भएको घटनाप्रति निर्वाचन आयोगले दुःख व्यक्त गरेको छ ।
निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यक्षेत्रमा खटिएका राष्ट्रसेवकहरूको निधनले आयोगलाई स्तब्ध बनाएको बताए ।
मतदान प्रक्रियाको तयारीका सिलसिलामा देशका विभिन्न भागमा केही दुःखद् घटनाहरू भएको उनले बताए । उनकाअनुसार रामेछाप जिल्लामा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको सवारी साधन दुर्घटनामा पर्दा सुरक्षाकर्मी र मतदान अधिकृतको ज्यान गएको छ ।
त्यसैगरी, आफ्नो कार्यक्षेत्रमै अहोरात्र खटिएको अवस्थामा सर्लाही र मुस्ताङ जिल्लामा मतदान अधिकृतहरूको निधन भएको छ भने कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीले ज्यान गुमाएका छन् । लोकतान्त्रिक महायज्ञलाई सफल पार्न आफ्नो ज्यानको बाजी लगाएर कर्तव्य पालन गर्ने क्रममा उनीहरूको निधन भएको उनले बताए ।
उनले भने, ‘मतदान प्रक्रियाको तयारीका सिलसिलामा केही दुःखद् घटनाहरू समेत घटेका भएका छन् । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाने क्रममा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको छ । त्यसैगरी कार्यक्षेत्रमै खटिएको अवस्थामा सर्लाही एवं मुस्ताङ जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएको छ । निधन भएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आयोग हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना प्रकट गर्दछ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ । निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास समेत हो । आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक, कानुनी अधिकार मात्र होइन लोकतन्त्रप्रतिको नागरिकको जिम्मेवारी हो । निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि छान्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानुन निर्माण र राज्य सञ्चालनका प्रक्रियामा प्रत्यक्ष संलग्न हुने शुभ अवसर पनि हो । यो प्रक्रियाको पूर्णताले मतदातामार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ ।’
निर्वाचन सामग्री ढुवानी र व्यवस्थापनका क्रममा भएका दुर्घटनामा परी घाइते भएका सम्पूर्ण कर्मचारी तथा सुरक्षाकर्मीहरूको स्वास्थ्य लाभको कामना समेत आयोगले गरेको छ ।
विषम परिस्थिति र कठिन भूगोलका बाबजुद पनि राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायले देखाएको समर्पणले नै निर्वाचन सम्भव भएको भन्दै उनीहरूको योगदानको आयोगले उच्च मूल्यांकन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया