निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।

निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले सबै योग्य मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिका बीच यो आकस्मिक निर्वाचन हुन गइरहेको उल्लेख गर्दै भण्डारीले यसले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे ।

उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित वातावरणमा सम्पन्न गराउन आयोग दृढ संकल्पित रहेको उनको भनाइ छ ।

मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताए । संविधान र कानुनबमोजिम निश्चित उमेर पूरा गरेका सबै नागरिक मतदाता हुने र प्रत्येक मतको मूल्य बराबर हुने उनले स्मरण गराए ।

उनका अनुसार निर्वाचनमार्फत राजनीतिक व्यवस्थाको स्वरूप, शासन, सरकार, नीति र नेतृत्वको निर्धारण हुने भएकाले प्रत्येक मत अत्यन्त महत्वपूर्ण हुन्छ । मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिनुपर्ने उनले बताए ।

निर्वाचन व्यवस्थापनका क्रममा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी तथा आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा र हौसला मिलेको उनले उल्लेख गरे ।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला नै निर्वाचन भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले वैधता प्रदान गर्ने भन्दै उनले बिहीबार फागुन २१ गते आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?